एमसीसीसँग सम्बन्धित थुप्रै गोप्य सम्झौता सदनलाई जानकारी गराउन भीम रावलको माग
एमसीसीसँग सम्बन्धित थुप्रै गोप्य सम्झौता सदनलाई जानकारी गराउन भीम रावलको माग

१५ साउन, काठमाडौँ
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदले अनुमोदन नगरी नेपालमा एमसीसीको कार्यालय खोलिएको भन्दै कडा आपत्ति जनाएका छन्।
शुक्रबारको संसद बैठकमा एमाले सांसद रावलले संसदबाट अनुमोदन नभएकै अवस्थामा एमसीसीको कार्यालय कसरी खुल्यो भन्ने जानकारी सरकारले दिनुपर्ने बताए।

उनले संशोधन नगरी एमसीसी सम्झौता लागु गर्न नहुनेमा जोड दिए।नेपालमा राजनीतिक परिवर्तन भएका बेला विभिन्न कोणबाट सन्धि सम्झौता हुने गरेको उल्लेख गर्दै रावलले अहिले पनि एमसीसीको चर्चा भैरहेको बताए।

उनले एमसीसीसँग सम्बन्धित अरु पनि थुप्रै साना ठूला सम्झौता भएको उल्लेख गर्दै ती सम्झौताहरुबारे सदन र जनतालाई जानकारी दिन माग गरे।उनले एमसीसीका सम्बन्धमा आफ्नो पार्टी एमालेले गठन गरेको कार्यदलमा रहँदा थुप्रै गोप्य सम्झौताहरु पढ्न पाइएको खुलासा गरे।

‘त्यो सम्झौतासँगै अरु धेरै सम्झौता भएका छन्। झलनाथ खनालको संयोजत्वमा नेकपाले गठन गरेको कार्यदलमा रहँदा धेरै गोप्य सम्झौता पढ्न पाइयो, अझै गोप्य सम्झौता भएका छन्, ती सबैबारे जनतालाई जानकारी चाहियो’, रावलले भने। उनले अगाडि भने, ‘संसदबाट एमसीसी अनुमोदन नभइ कार्यान्वयनका लागि भएका सम्झौता सदनलाई जानकारी गराइयोस्। देश सानो ठूला हुन्छ, समानताका आधारमा सम्झौता हुन सक्दैन।’

उनले प्रशारण लाइनको नाममा अनन्तकालसम्म नेपालको भूमि दिन नसकिने बताए। उनले अमेरिकी राजदूतले एमसीसी सहयोग नभइ लगानी हो भनेको भन्दै ध्यानाकर्षण गराए।त्यसमा रहेका असमान विषयलाई हटाएर, अनुदानका रुपमा लिन सकिन्छ। तर सामारिक विषयमा जान सकिँदैन। पाँच वर्षका लागि भने पनि त्यसका प्रावधानले अनन्तकालसम्म अमेरिकाको उपस्थिति रहन्छ। देशको हितलाई ध्यानमा राखेर मात्रै पाइला चालौँ,’ रावलले भने।

साभार सञ्चार

अघिल्लो सामग्रीसाझावाणी दैनिक श्रावण १५ गते शुक्रवार।
यसपछिको सामग्रीअपाङ्ग रहमानले पाए स्मार्ट व्हिल चेयर