११ साउन,रौतहट

भनिन्छ, सानो छँदा बच्चालाई आफ्नो आमाबुवा नै संसार हो भन्ने लाग्छ । मेरो बुवाआमा नै सबैभन्दा धनी, शक्तिशाली, मायालु, जान्नेबुझ्ने हो भन्ने ठान्छन् ।उनीहरु बुवाआमाकै काखमा लपेटिएर बस्छन् । दुःखमा, पीडामा, वेदनामा आमाबुवाको न्यानो र भरपर्दो साथ खोज्छन् । बुवाको छाती र आमाको काखमा लुटपुटिनु पाउँदा उनीहरुलाई सबैभन्दा सुरक्षित महसुष हुन्छ ।

आमाको काख र बुवाको काँधमा चढेर उनीहरु हुर्किन्छन् । क्रमस जान्ने–बुझ्ने हुन्छन् । त्यसपछि उनीहरुलाई आफ्नो आमाबुवा मात्र सबैथोक होइन भन्ने लाग्न थाल्छ । विस्तारै आमाबुवासँग दुरी बढ्दै जान्छ ।उनीहरु हुर्कदै जान्छन् र बुवाआमाको साहारा बिना हिँडडुल गर्न सक्ने हुन्छन् । त्यसपछि उनीहरु लेखपढ गर्छन् । आयआर्जनको काममा लाग्छन् । प्रेम गर्छन्, विवाह गर्छन्, बालबच्चा जन्मन्छन् । यतिबेला आमाबुवाको उमेर भने ढल्कदो अवस्थामा हुन्छ । उनीहरु दिनदिनै कमजोर र शिथिल हुँदै गएका हुन्छन् ।

अब छोराछोरीको भरमा उनीहरुले बाँच्नुपर्ने हुन्छ । खानपान र स्यहारसुसारका लागि छोराछोरीमा निर्भर गर्नुपर्ने हुन्छ । यतिबेला छोराछोरीलाई लाग्न थाल्छ, ‘मेरा बुवाआमा कमजोर हुन ।’

बुवाआमाको शरीरलाई बुढ्यौलीले थिच्छ । उनीहरु राम्ररी हिँडडुल गर्न सक्दैनन् । राम्ररी खान सक्दैनन् । राम्ररी सुत्न सक्दैनन् । शरीरमा आइपर्ने रोगहरुबाट बच्न औषधि खानुपर्ने अवस्था हुन्छ । यतिबेला छोराछोरीलाई लाग्छ, ‘मेरा बुवाआमा एकदमै कमजोर र परनिर्भर छन् ।’छोराछोरी आफ्नै संसारमा रमाउन थाल्छन् । खाने, खेल्ने, घुम्ने, मनोरञ्जन गर्ने । नाम, प्रतिष्ठा कमाउने । यतिबेलासम्म उनीहरुको पारिवारिक जीवन सुरु भइसकेको हुन्छ । आफ्ना छोराछोरी, नातेदार, इष्टमित्र, साथीभाईसँग समय बिताउन थाल्छन् । अब उनीहरुलाई आफ्नो आमाबुवा बोझ लाग्न थाल्छ ।

पाको भइसकेका आमाबुवासँग भलाकुसारी गर्ने मुड हुन्न । उनीहरुसँग समय बिताउने फुर्सद हुन्न । उनीहरुलाई डुलाउने, घुमाउने कुरामा जाँगर चल्दैन ।बुवााआमासँग त अब कुनै रहर र आकंक्षा बाँकी छैन । उनीहरुलाई आफ्नो लागि केही गर्नुछैन । आफुले जीवनभर आर्जन गरेको अनुभव, ज्ञान सन्ततीलाई सुनाउन र बुझाउन चाहन्छन् । तर, छोरा–नातीले उनीहरुको कुरा सुन्न रुचाउँदैनन् । बुढापाको कुरा उनीहरुलाई झर्को लाग्छ ।

छोराछोरीले जतिसुकै अपहेलना गरेपनि बुवाआमा सधै छोराछोरीको भलो सोचिरहेका हुन्छन् । उनीहरु आफ्ना सन्ततीको सुख र खुसीकै खातिर आफ्नो पीडा लुकाइरहेका हुन्छन् ।तर, छोराछोरीले आमाबुवाको मर्म बुझ्दैनन् । बुवाआमालाई स्यहारसुसार गर्दा, औषधि उपचार गर्दा आफ्नो समय बर्बाद भएको ठान्छन् । अन्ततः बुवाआमालाई बृछाश्रममा पु¥याएर छाड्छन् ।सबै छोराछोरी यस्ता निर्दयी हुँदैनन् । तर, हाम्रो समाजमा कतिपय छोराछोरीले बुढापाका आमाबुवालाई बोझ मान्ने गर्छन् र उनीहरुलाई अपहेलित गरिरहेका हुन्छन् ।

यतिबेला उनीहरुले सोच्दैनन् कि, म पनि एक दिन बुढो हुनेछु । मेरो पनि हातखुट्टा र इन्द्रियले राम्ररी काम गर्नेछैन । खाना रुच्नेछैन, निद्रा लाग्ने छैन । त्यसबेला औषधि खाएर बाँच्नुपर्ने हुन्छ । त्यो स्थितीमा मेरा छोराछोरीले पनि मलाई हेला गरेमा के होला रु

अघिल्लो सामग्रीमन्त्री नियुक्तिको सकस र सुशासन
यसपछिको सामग्रीनेपालमा खेल्न उत्साहित छु = अफ्रिदी