बारा — नूर महम्मद आफ्नी पत्नी र छोरीसहित शनिबार खेतमा भारी मन गरेर डुबेको मकैको घोगा पानीबाट टिप्दै थिए । गत कात्तिकमा १५ कट्ठामा उनले मकै लगाएका थिए । ४५ क्विन्टल मकैको फल्ने आशा थियो ।

बाराको महागढीमाई–८ का किसान वर्षाले खेतमै डुबाएको मकैको घोगा शनिबार टिप्दै। तस्बिर स् लक्ष्मीरकान्तिपुर
तर गत तीन दिनयताको वर्षाले उनको सबै मिहिनेत र लगानी खेर गएको छ । वर्षा नभएको भए उनले मकै बिक्रीबाट १ लाखभन्दा बढी रुपैयाँ हात पार्ने थिए । प्रतिक्विन्टल २३ सयको दरले मकै बिक्री गर्दा उनले त्यति रकम हात पार्थे । तर वर्षाले क्षति गर्दा मुस्किलले २५ हजारको मकै निकाल्न सक्छन् ।

‘छोरीको विवाह खर्च मकैले धान्ला भन्ने सोचेको थियो । तर पानीले चकनाचुर बनाइदियो,’ महागढीमाई नगरपालिका–८ महम्मदले भने, ‘खेतमै डुबेर घोगा कालो भएको छ ।’

महागढीमाई–८ कै इन्द्रजित चौरसिया छोरा र पत्नीसहित पानीबाट घोगा निकाल्दै सडकमा फाल्दै थिए । उनको पनि ५ कट्ठामा लगाएको मकै पानीले डुबेको छ । पानीमै घोगा छानीछानी टोकरीमा राखेर छोराको बोकाउँदै गर्दा उनीहरू छटपटिएका थिए । ‘पाकेको घोगासहित पूरै मकैको बोट पानीमा डुबेको छ,’ इन्द्रजितले भने, ‘प्रति कट्ठा ३ क्विन्टलले हुन आउने १५ क्विन्टल गुमाएको छु ।’ पाकेको घोगा भित्र्याउने बेलामा वर्षाले सखाप बनाएको उनले बताए । ‘कहिले बीउ नै न उम्रिने कहिले घोगा लागे पनि दाना नै नलाग्ने समस्या झेलेका थियौं, यसपालि भने वर्षाले क्षति बेहोरेका छौं,’ उनले भने ।

वर्षाले मकैमा क्षति बेहोर्ने महागढीमाई नगरका यी दुई किसान परिवार मात्र होइनन् । जिल्लाभरका सयौं किसानको उस्तै बिजोग छ । गत तीन दिनको हावाहुरीसहितको वर्षा र झरीले पाकेको मकै क्षतविक्षत बनाएको हो । पाकेको घोगासहितको बोट खेतमै लडेको छ । जमेको पानीले घोगालाई डुबाएको छ । कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्ला भरमा ८ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । यसपालिको वर्षाले क्षति पुग्दा आधा घट्न सक्ने त्रान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।

‘स्थानीय तहले अनुगमन गरेर किसानलाई हौसला बढाउन राहत दिनुपर्छ,’ उनले भने, ‘मकैको क्षतिले किसानको ढाडै भाँचेको छ।’ खेतमै मकै सडेर कालो भएपछि प्रतिक्विन्टल २ हजार ३ सयको दरले बिक्री हुने मकै मुस्किलले प्रतिक्विन्टल १ हजारको दरले बिक्री हुन सक्ने सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका मकै व्यापारी सिकेन्द्र यादवले बताए । ‘वर्षाले उत्पादन पनि घट्यो र मकै सडेर कालो भएपछि दर पनि घटयो,’ व्यापारी यादवले भने, ‘त्यसैले किसान यसपालि मारमा परेका छन् ।’

साभार-कान्तिपुर

अघिल्लो सामग्रीचौथो पटक पुनः ७ दिनको लागी जिल्लामा निषेधाज्ञा थप
यसपछिको सामग्रीअसिनाबाट अरबौंको क्षति