रौतहट,२६बुधवार
रौतहटमा जेठ ३१ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार रातिबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।कोभिड १९ को संक्रमण रोक्न जिल्ला प्रशासनले बुधबार चौथो पटक निषेधाज्ञाको अवधि थपेको हो । वैसाख १६ गते देखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ ३१ गते सम्मका लागि थपेको हो । यसअघि जेठ २६ गते राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

प्रजिअ यादवले जिल्लामा कोरोना संक्रमणको जोखिम रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, तरकारी पसलहरु, किराना पसल, फलफूल पसला आइतबार, मंगलबार, बिहीबार र शुक्रबार मात्र सञ्चालन गर्न दिइने निर्णय भएको छ । त्यस्तै, होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न दिएको छ ।
जिल्ला प्रशासनले अत्यावश्यक सूचीमा रहेका स्वास्थ्य, खानेपानी, इन्धन, एम्बुलेन्स, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई सञ्चालन गर्न अनुमति दिइएको छ । विद्युत, फोहोरमैला व्यवस्थापन, दुरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, कुरियर तथा डाक सेवा, लगायतका ढुवानी, यातायातका साधनको हकमा विषय उल्लेख गरी सञ्चालन गर्न दिइएको छ ।
पछिल्लो समय जिल्लामा संक्रमण र मृतकको संख्या घट्दै गएको छ । कोभिड १९ को संक्रमणले जिल्लामा मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ । बुधबारसम्म संक्रमितको संख्या घटेर ७ सय १२ मा झरेको छ । जिल्लाको १८ वटै स्थानीयतहमा संक्रमणका बिरामीहरु छन् । अहिले सम्म ४ सय ८२ जना संक्रमण मुक्त भएका छन् ।

अघिल्लो सामग्रीरौतहटको रामपुरखापमा ३० लाख सहित दुई भारतीय पक्राउ
यसपछिको सामग्रीबादल पत्नी नैनकला सञ्चारमन्त्री