असार १५, काठमाडौं,
९० को दशकमा नायक बन्न अग्लो कद, लामो कपाल, सुगठित शरीर, वजनदार आवाज हुनुपर्ने मानक स्थापित थियो । धिरेन शाक्य यो मानकमा फिट थिए । फलतः पहिलो फिल्म ‘पहिलो प्रेम’ बाटै उनलाई दर्शकले नायकको रुपमा स्वीकारे । त्यसबेला नेपाली फिल्ममा राजेश हमालको चर्को बोलबाला थियो । उनको उदयपछि निर्मातारनिर्देशकले हमालको विकल्प भेटेका थिए । ‘कर्जा, सौभाग्य, जुनतारा’ लगायतका फिल्म हिट भएपछि धिरेनको हाइहाइ हुन थाल्यो । फिल्मवृतमा उनलाई राजेश हमालको प्रतिस्पर्धी भन्न थालिएको थियो । त्यही बेला निर्देशक तथा निर्माता युवराज लामाले उनीहरुलाई लिएर फिल्म ‘प्रतिज्ञा’ बनाए । फिल्म जबरजस्त हिट भयो । यसपछि यी दुईले ‘भीष्म प्रतिज्ञा, सीमाना, अंग रक्षक, माया बैगुनी’ लगायत धेरै फिल्ममा काम गरे ।

तर, २०५१ सालमा धिरेनले एक पत्रिकासँगको अन्तर्वार्तामा ‘राजेश हमाललाई चिन्दिनँ’ भनेर अभिव्यक्ति दिए । खासमा निर्माताको आग्रहमा फिल्मको प्रचारको लागि उक्त फण्डा गरिएको थियो । तर, जब अन्तर्वार्ता छापियो, अर्थको अनर्थ लाग्यो । दर्शक र फिल्मकर्मी उनीमाथि खनिए । उनका फिल्म बहिष्कार गर्नेसम्मका कुरा उठे । जसले गर्दा उनको करिअर नै संकटमा पर्‍यो ।
यो घटनाको अझै पनि चर्चा हुने गरेको छ । धिरेनले वर्षौंदेखि फिल्मको प्रचारको लागि उक्त कुरा फण्डाको रुपमा तयार गरिएको स्पष्टिकरण दिँदै आएका छन् । हालै ठूलोपर्दा टिभीसँगको कुराकानीमा उनले आफ्नो कुरालाई गलत रुपमा बुझिएको बताए । उनी भन्छन्, ‘मैले फिल्मको प्रचारका लागि फण्डाको रुपमा त्यसो भनेको थिएँ । तर, त्यसलाई गलत रुपमा बुझियो, जुन सत्य होइन ।’
उनी अगाडि भन्छन्, ‘हामी दुवैको जन्मथलो पाल्पा हो । हामीले कयौं फिल्ममा एकसाथ काम गरेका छौं । अनि मैले उसलाई चिन्दिनँ भनेर कसरी भन्न सक्थेँ र रु मैले फण्डाका लागि भनेको कुरालाई गलत रुपमा बुझिएको मात्र हो ।’ फिल्म ‘सीमाना’ को एक एक्सन सिनको सुटिङमा भने गल्तीले राजेश हमाललाई मुक्का लागेको र त्यसैबेला आफूले माफी मागेको उनी सम्झन्छन् ।
राजेश हमालसँगको विवादपछि उनको करिअर ओरालो लागेको पनि भन्ने गरिन्छ ।

यस विषयमा उनी भन्छन्, ‘मैले वास्तवमै गल्ती बोलेको भए करिअरमा धक्का लागेको ठान्थे होला । तर, त्यो त फण्डाका लागि भनिएको थियो । त्यसैले त्यो कुराले करिअरमा असर गरेको मान्दिनँ ।’ उनले राजेशसँग कहिल्यै सम्बन्ध नबिग्रिएको र फिल्मी कार्यक्रममा भेट हुँदा बोलचाल हुने गरेको बताए ।धिरेन स्थिति सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् । जसमा उनी शिव श्रेष्ठ र राजेश हमाललाई लिएर आफू पनि खेल्ने सोचमा छन् । तर, कोरोनाका कारण फिल्मको काम अगाडि बढ्न पाएको छैन । धिरेनसँग फिल्ममा काम गर्न राजेश हमाल पनि सकारात्मक देखिएका छन् । यो पक्का हो कि उनीहरुले सँगै काम गरे दर्शक एकपटक सिनेमा हलसम्म अवश्य जानेछन् ।

अघिल्लो सामग्रीइथियोपियाको टिग्रेमा युद्धविराम घोषणा
यसपछिको सामग्रीआँप किन्दा के कुरामा ध्यान दिने ?