नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्नेगरी बजेटमा समावेश गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। नदीजन्य पदार्थ निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएर आफ्नो असल अनुहार घटिया सोच उजागर गरेको थापाको भनाइ छ।
वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने कुरा यसले प्रस्ट देखाएको उनको आरोप छ। संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्नेु कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ, उनले भने, वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेका छन्, यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यारलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस्छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।
संसद् नभएका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्ता कार्यक्रम समावेश गरिएको थापाको भनाइ छ। उनले यस्ता जनविरोधी कार्यक्रमको प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन्।
अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु, उनले भनेका छन्। साभार:अन्नपूर्ण पोष्ट