१४ असार, काठमाडौं
कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।
नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान अनुमति दिइने भएको छ ।
यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे(नबसेको अनुगमन गर्ने भएको छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको थियो ।
विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट साथमा बोक्नुपर्नेछ ।
खोप नलगाए ७ दिन होटल क्वारेन्टिन
सरकारले गन्तव्य तोकेर हवाई उडान सहज बनाएको छ । यससँगै विदेशमा खोप नलगाए पनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटल क्वारेन्टिन बसे पुग्नेछ। यसअघि यस्तो प्रावधान १० दिनको थियो ।यात्रुले पीसीआर रिपोर्टसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् । तर, आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारिशमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा सीधै घर जान दिइनेछ ।
निजले घरमा बसेको ११ औं दिनमा भने कोभिड १९ परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा दुई जनालाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिने भएको हो ।७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरी घर जान दिइनेछ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्कंदा होटल बुकिङ नभए पनि बोर्डिङ
होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सीधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनी तोकेका होटलमा बस्नुपर्नेछ । यसको व्यवस्थापन पर्यटन विभागले गरिरहेको छ । यसअघि सबै यात्रुले होटल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।
डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कूटनीतिक नियोगको सिफारिशमा सरकारी क्वारेन्टिनमा राखिनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने खर्च सरकारले नै बेहोर्नेछ ।
भीआईपीलाई छुट
नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरुको परिवार भने अब होटलमा क्वारेन्टिन बस्नुपर्ने छैन ।
परराष्ट्र मन्त्रालयको सिफारिशका आधारमा उनीहरु स्वयं क्वारेन्टिनमा बस्न सक्नेछन्। नेपाल आएको १० औं दिनमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई काममा फर्कन दिइनेछ । विदेशबाट फर्कने नेपाली कर्मचारी १० दिन घरमै बस्ने गरी घर जान पाउने छन् ।विदेशबाट फर्कने सुरक्षाकर्मी भने संस्थागत क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जान सक्ने भएका छन् ।
साभार अनलाइन खबर