उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन्।
मन्त्रीको जिम्मेवारी सम्हालेपछि शुक्रबार गृह जिल्ला सिरहा आएका मन्त्री यादवले यस्तो बताएका हुन्। रेडक्रस शाखा चोहर्वाको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योगी, व्यवसायी सच्चिनुपर्ने बताए। व्यवसायीहरूको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन। म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ। देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी चल्दैन।’ ठूलठूला उद्योगहरूमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दाबी गरे। जनतालाई हित हुने गरी सेवाभावले मापदण्डभित्र रहेर सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने पनि मन्त्री यादवले बताए। उद्योगी व्यवसायीहरूको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ छ।

‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने अनुभूति गराउनेछु।’ कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धराशायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए। ‘मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले मेरो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी छैन।’ उनले भने। वर्षायामका महिनामा हरेक वर्ष देशमा खाद्यान्नको अभाव देखिने गरेको भन्दै अब त्यो समस्या अन्त्य हुने उनले दाबी गरे। खाद्यान्न तथा उपभोग्यलगायतका सामग्री आपूर्तिमा कुनै किसिमको समस्या आउन नदिने गरी काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको समेत मन्त्री यादवले जानकारी दिए।

अघिल्लो सामग्रीकीर्तिमानी रोनाल्डो
यसपछिको सामग्रीदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता