०१ जेठ, काठमाण्डौं
नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दी डबिङको सम्पूर्ण काम सकेर फिल्मका निर्देशक मिलन चाम्स अहिले हिन्दी भाषामा रिलिज गर्ने तयारीमा छन् । फिल्ममा पल र वर्षासँगै नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनालको पनि मुख्य भूमिका रहेको छ ।
उनले सामाजिक सञ्जालमा फिल्मको हिन्दी संस्करणको दृश्यांश पोस्ट गर्दै सो जानकारी गराएका हुन् । निर्देशक चाम्सले दुई वर्षअगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गराएका थिए । सुरुमा फिल्मको हिन्दी संस्करणलाई सिनेमा हलमा नै रिलिज गर्ने तयारी गरे पनि कोरोना भाइरसको कारण सिर्जित अवस्थाले त्यो सम्भव हुन सकेन ।
अब निर्देशक चाम्स फिल्मको हिन्दी संस्करणलाई भारतीय युट्युब च्यानलबाट रिलिज तयारीमा जुटेका छन् । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सले बताउँछन् ।
उनले भने, ‘हामीले सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी फिल्मको हिन्दी डबिङ गरेका थियौँ । तर कोरोनाले भारतका सिनेमा हल अनिश्चितकालका लागि बन्द भएका छन् । अब युट्युबमै फिल्म रिलिज गर्दैछौँ । फिल्मको हिन्दी डब निकै राम्रो भएको छ ।’