रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित सहिद स्मृति पार्कमा रहेको अस्थायी कोभिड अस्पताल ९आइसोलेसन वार्ड० सञ्चालनमा आउन सकेको छैन । स्थानीय तहले गत वर्ष जस्तै कोरोना भाइरस नियन्त्रणमा चासो देखाउन सकेको छैनन् । बजेटको बहाना बनाउँदै पालिकाहरू महामारी नियन्त्रण गर्नबाट तर्किन खोजिरहेका छन् ।
रौतहटको चन्द्रपुर–२ स्थित आइसोलेसन वार्ड । बजेट अभाव जनाउँदै नगरपालिकाले आइसोलेसन सञ्चालन गरको छैन ।
चन्द्रनिगाहपुरमा रहेको आइसोलेसन वार्ड सञ्चालन गर्न नगरपालिकाले अस्वीकार गरेपछि संक्रमितलाई राख्न समस्या भएको छ । चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बजेट अभावले आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिने बताए । गत वर्ष भने नगरहरूले नै आइसोलेसन वार्ड चलाएका थिए । ‘यसपटक नगरपालिकामा बजेट नै छैन । कसरी सञ्चालन गर्ने  समस्या छ,’ उनले भने, ‘प्रदेश र संघले बजेट पठायो भने आइसोलेसन वार्ड सञ्चालनमा ल्याउँछौं । होइन भने नगरपालिकाले सञ्चालन गर्न सक्दैन । जिल्ला प्रशासन कार्यालयले चलाए हुन्छ । हामी सक्दैनौं ।’ गत वर्ष सञ्चालन गर्दा १७ लाख भुक्तानी बाँकी रहेको र माथिबाट बजेट नपठाएको उनले बताए ।
चन्द्रपुर, बृन्दावन, गुजरा र गढीमाई नगरपालिकाले स्मृति पार्कभित्र रहेको एउटा भवनलाई व्यवस्थित आइसोलेसन वार्ड बनाएका थिए । चारैवटा नगरपालिका मिलेर महिला फुटबल एकेडेमीमा क्वारेन्टाइनसमेत सञ्चालन गरेका थिए । ७० लाखमा तयार गरिएको आइसोलेसन वार्डका लागि चन्द्रपुरले २५, गुजरा, बृन्दावन र गढीमाईले १५/१५ लाख सहयोग गरेका थिए । ४० बेडको आइसोलेसन वार्डमा संक्रमित बसेका थिए । सबै निको भएर घर फर्केपछि गएको माघमा आइसोलेसन खाली भयो । अहिले जिल्लाभरि संक्रमतिको संख्या १ सय २६ पुगेको छ । उनीहरू सबै होम आइसोलेसनमा छन् । घर बस्दा परिवारका सदस्यलाई सर्ने खतरा बढेको भन्दै सरकारी आइसोलोसनमा बस्न अनुरोध गरेका छन् ।
चन्द्रनिगाहपुरको आइसोलेसन वार्ड तत्कालै सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘गतवर्ष क्वारेन्टाइन र आइसोलेसन वार्ड सञ्चालन गर्न स्थानीय तहले प्रभावकारी भूमिका निर्बाह गरे,’ उनले भने, ‘यसपाली जिम्मेबारीबाट पन्छिन खोज्दै छन् । यस्तो गर्नुहुन्न । सबै नगरपालिकाले संक्रमण रोक्न पहल गर्नुपर्छ ।’ प्रजिअ यादवले धरहरीमा रहेको १ सय बेडको आइसोलेसन वार्ड सञ्चालन गर्न देबाहीगोनाही नगरपालिकाले समेत नमानेको सुनाए । देवाहीगोनाहीका मेयर धर्मेन्द्र पटेलले समेत बजेट अभाव देखाउँदै आइसोलेसन सञ्चालन गर्न अस्वीकार गरेको उनको भनाइ छ ।

अघिल्लो सामग्रीसासद तिमल्सिना को पहलमा सन्तपुर-पिपरा बजार हुँदै गौर सडक खण्ड ब्यवस्थापन को लागि २ करोड बजेट थप
यसपछिको सामग्रीमास्क नलाउनेलाई धमाधम कार्वाही गर्दै रौतहट प्रहरी