१२ जेठ , रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले तेश्रो पटक पुनः ७ दिनको लागी जिल्लामा निषेधाज्ञा थप गरेको छ । समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको निषेधाज्ञा जेठ १९ गते सम्म सात दिनको लागी थपिएको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा जेठ १३ गते देखि १९ गते राति १२ बजे सम्म जिल्लामा निषेधाज्ञा रहने उल्लेख छ । सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।
होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थीत हुन पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।