रौतहट —रौतहटको चन्द्रपुरमा किट अभाव भए पछि संक्रमणको खतरा बढेको छ । चन्द्रपुर–४ का रमेश संग्रौलाले ७० वर्षीय बुबालाई कोरोना पुष्टि भएपछि परिवारकै पीसीआर परीक्षणका लागि नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा समेत स्वाब संकलन हुन नसक्दा संक्रमण हुने डर उनि र उनको परीवारमा रहेको छ । एक सातासम्म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्य र आफन्तको स्वाब संकलन हुन नसक्दा उनी तनावमा छन् ।
अहिले सामग्रीको अभाव भएको भन्दै चन्द्रपुर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द भएको छ । संक्रमण देखिएपछि सरोकारवालाले कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा चासो नदेखाएको संग्रौलाको गुनासो छ  ।
यस्तै चन्द्रपुर–४ कै अर्का एक युवकले आफूलाई संक्रमण भएपछि परिवारका सदस्य र आफन्त गरी ९ जनाको स्वाब परीक्षण गर्न माग गरेको पनि एक साता बितेको बताए । संक्रमण देखिएपछि सम्पर्कमा बसेकाहरू आफैं स्वाब दिन सक्रिय भए पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा सरोकारवालाले चासो नदिएको युवकको गुनासो छ  । चन्द्रपुर क्षेत्रमा १५÷२० जनाको हाराहारीमा दिनहुँ नयाँ संक्रमित थपिँदै छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।
चन्द्रपुरका स्वास्थ्य संयोजक अभय ठाकुरले स्वाब निकाल्ने र राख्ने सामग्री नभएकाले परीक्षण प्रभावित भएको बताए ।स्वाब निकाल्नेहरू धेरै छन्,’ सामग्री नै छैन,प्रदेशमा माग गरेको र आयो भने चाँडै संकलन गर्नें ठाकुरले बताए  ।’ परीक्षणका लागि एक सयभन्दा बढीले नाम लेखाएका छन् । कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाने सम्भावना बढेको छ ।
गत वर्ष संक्रमण देखिना साथ स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अघिल्लो वर्षका तुलनामा यस पटक संक्रमण नियन्त्रणमा स्थानीय तह सुस्ताएको बताए । ‘क्वारेन्टाइन, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा स्थानीय तह आफैंले घर बनाउने, स्वाब संकलन र सामान खरिद गर्ने गर्थे,’ उनले भने, ‘योपालि बजेट छैन् भनेर पन्छिन खोजे ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सोमबारसम्म ७ सय ८७ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ७३ जना निको भएर घर फर्केका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ५३ पुगेको छ । संक्रमितहरू अधिकांश होम आइसोलेसनमा छन् । तिनीहरूको निगरानीमा स्थानीय तहले चासो देखाएको छैन ।
अघिल्लो वर्ष बजेट भएकै कारण कोभिड–१९ को संक्रमण नियन्त्रणका कामहरू भएको र यस वर्ष बजेट अभावले समस्यामा परेको चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बताए । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर र गौर नगरपालिकामा सबैभन्दा बढी १११/१११ जना संक्रमित छन् ।

अघिल्लो सामग्रीगौतम होटलका कर्मचारीद्वारा पत्रकार महासंघको कोषमा ५१ हजार सहयोग
यसपछिको सामग्रीकोरोना संक्रमणका कारण वडाध्यक्ष को मृत्यु