बैशाख, ८ बुधबार
रौतहट । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले रौतहट जिल्लामा रहेका विद्यालयहरुलाई वैशाखभित्र आफ्नो वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता बसेको केन्द्रको बैठकले जिल्लाका सामुदायिक एवम् संस्थागत सम्पूर्ण विद्यालयहरुको वार्षिक परीक्षा वैशाख मसान्तसम्म सम्पन्न गर्न र संक्रमण देखिएका वा आशंका भएका विद्यालयहरु आवश्यकता अनुसार केन्द्रसँगको समन्वयमा बन्द गर्ने निर्णय गरेको छ
विद्यालय तथा बालबालिका उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्नुपर्नेमा केन्द्रले जोड दिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
त्यसैगरी केन्द्रले जिल्लामा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले तत्कालै धरहरीमा रहेको सय बेड क्षमताको, चन्द्रपुरमा रहेको ४० बेड क्षमताको, गौर अस्पतालको तालिम हलमा ३० बेड क्षमताको आइसोलेसन तत्काल संचाललनको लागि तयारी अवस्थामा राख्ने निर्णय पनि केन्द्रले गरेको छ । त्यसैगरी केन्द्रले जिल्ला रहेका १० वटा आइसियु, ४ वटा भेन्टिलेटर एवम् १५ वटा एचडियु संचालन गर्न आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
रौतहट जिल्लामा मंगलबारसम्म ३५ जना संक्रिय संक्रमितहरु रहेका छन् । पछिल्लो समय गौर अस्पतालको पिसिआर ल्यावमा पीसीआर परीक्षण गराउने मध्ये अधिकांशमा संक्रमण पुष्टि भइरहेको अस्पतालले जनाएको छ ।
आवरण रौतहट प्रशासन द्धारा बैशाख महिना भित्र वार्षिक परीक्षा सक्न विद्यालयलाई निर्देशन