हेटौंडा, १९ चैत ।

नेकपाको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदन प्रक्रिया बारे आज निर्णय हुने भएको छ ।

सर्वोच्च अदालतले निवेदनमा निस्सा प्रदान गरे यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रले जिकिर गरेको छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिंदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

अघिल्लो सामग्री२.७ प्रतिशतले नेपालको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण
यसपछिको सामग्रीबिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै