वैशाख सुरु भएकोसँगै कौसी खेती गर्नेहरूको लागि घरमै फलाउने विभिन्न जातका तरकारी लगाउने सिजन सुरु भएको छ। मनसुन सुरु हुन सामान्यतया डेढदेखि २ महिना बाँकी छ । कतिपय तरकारीको प्रकृति अनुसार मनसुन सुरु भएपछि तरकारी फस्टाउन नसक्ने भएकोले मनसुन सुरु हुनुभन्दा पहिले नै फलाउने तरकारीको समेत सिजन सुरु भएको कौसीखेतीका अभियान्ताहरू बताउँछन् । उनीहरूका अनुसार अहिले रोपेको तरकारीमध्ये केही असोज कात्तिकसम्म पनि फलिरहनेखालका हुन्छन् भने केही मनसुन अघिसम्मको लागि मात्रै फल दिने खालका हुन्छन् ।
कौसी खेती अभियानका अभियान्ता एवं अभियान एग्रोका सञ्चालक सुभाष पण्डित अबको एकदेखि डेढ महिनासम्म घरमा नै तरकारी उत्पादन गरेर खान सकिने बताउँछन् । केही तरकारीहरु बर्खा लागेपछि राम्रो उत्पादन नहुने भएकोले बर्खाअघि नै उत्पादन गरेर खान सकिने उनी बताउँछन् ।
पण्डितका अनुसार गोलभेँडा, साग, लसुन जस्ता तरकारीहरु रोप्ने सिजन सुरु भएको छ । चैत महिनामा बिउ रोपेर तयार पारेको बिरुवा अहिले सार्ने बेला भएको छ । अहिले सारेका यी तरकारीहरु जेठको सुरु वा मध्येसम्ममा तयार हुन्छन् । यसबाहेक पनि लौका, घिरौंला, करेला भेँडेखुर्सानी आदि वैशाखको पहिलो सातामा लगाउन सकिन्छ ।
अर्कोतर्फ एक सिजनको लागि मात्रै हो भने रायो चम्सुर जस्ता सागहरु पनि लगाउन सकिन्छ । यी सागहरु बर्खा सुरु भएपछि बढ्दैनन् । यद्यपि कौसीमै पनि टनेलको प्रयोग गरिएको छ भने चाहिँ बर्खा लागेपछि पनि यसलाई उत्पादन गर्न सकिने पण्डित बताउँछन् ।
उनका अनुसार घिरौंलाको बिरुवा अहिले सारियो भने जेठमा खान तयार हुन्छ । अहिले बल्ल बिउ रोप्ने हो भनेचाहिँ असारसम्म कुर्नुपर्छ । माघमा बीउ राखेर चैत वैशाखमा लगाएको खुर्सानी असारदेखि कात्तिक मङ्सिरसम्म फल्ने गर्छ ।
फागुन महिनाको अन्तिम वा चैतको पहिलो हप्तादेखि सहरी भेगमा घरको कौसीमै पनि अर्गानिक तरकारी लगाउने सिजन सुरु भएको हो । यो अहिलेसम्म चलिरहेको छ । बिहान बेलुकाको समयमा जाडो नसकिइसकेको फागुन चैतको मौसममा राखेको तरकारी तथा फलफूलको बिउ अहिले बिरुवा लगाउने अवस्थामा पुगेको छ । सिधै विरुवा किन्न चाहनेको लागि पनि बजारमा बिरूवा किन्न सक्ने सुविधा छ ।
कौसीखेती गर्ने क्रममा छतमा धेरै गह्रौं‌‌ वस्तु राख्न नचाहनेहरूलाई माटोको विकल्पमा कोकोटिक ९नरिवलको जटा०को प्रयोग पनि गर्न सकिन्छ । यो माटोको तुलनामा निकै हलुका हुने गर्छ । नरिवलको जटालाई कम्प्लेक्स गरेर एउटा इँटा जस्तो आकारको बनाइएको हुन्छ । तर यस्तोमा बेलाबेलामा कम्पोस्ट मल थपिराख्नुपर्छ । नियमित पानी माटोमा हुर्काउने बिरुवा होस् या कोकोटिकमा हुर्काउने होस् सबैमा उति नै मात्रामा राख्नुपर्छ ।
कौसीखेतीको लागि प्रयोग गरिने कोकोटिक
कोकोटिकमा तरकारी हुर्काउने हो भने त्यसको लागि एकभाग कोकोटिक राख्नुपर्छ र समय समयमा कम्पोस्ट थपिराख्नुपर्छ । बिरूवाअनुसार १५ देखि २० दिनसम्मा कम्पोस्ट थपिरहनुपर्छ । कोकोटिकमा फलाउने बिरूवाको जरा धेरैतिर फैलिएको हुन्छ ।

अघिल्लो सामग्रीजयनगर-बर्दिवास रेल वैशाख महिनाभित्रै सञ्चालन हुने
यसपछिको सामग्रीकार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध