चैत १४ ।

सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ५८ अब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिनुभयो ।

२०३२ सालमा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो । कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्तको योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उहाँको भनाई छ । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो ।

कोषबाट सञ्चालित सेवा सुविधा समयानुकूल बढोत्तरी भइरहेको तथा कल्याणकारी सेवा सुविधामा बढाउने उद्देश्यले कोषको पहुँच र प्रभावकारिता बढाउन स्पष्ट नीति तर्जुमा गरी लागू गरेको सेनाले जानकारी दिनुभयो ।

कोषको उचित प्रयोग, मितव्ययिता र पारदर्शिता ध्यानमा दिँदै सुविधालाई विकेन्द्रित, पारदर्शी एवं परिणामुखी तुल्याउँदै लगिएको बताइएको छ । सेनाले कोषमार्फत बहालवाला, भूपू सैनिक र एकल महिलाका परिवारलाई शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगारका लागि काम गर्दै आएको छ ।

सैनिक र आश्रित परिवारलाई सुरक्षित भविष्यतर्फ अग्रसर गराउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार तथा सुविधामा जोड दिँदै आएको प्रधानसेनापति थापाले बताउनुभयो ।

उक्त कोषबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने वहालवालाका अतिरिक्त भूपू सैनिक र एकल महिलाको संख्या ८६ हजार छ । उक्त कोषसँग प्रत्यक्ष वा परोक्ष जोडिने वहालवाला तथा भूपू सैनिकका आश्रित व्यक्तिको संख्या आठ लाखभन्दा बढी रहेको जनाइएको छ ।

अघिल्लो सामग्रीआज विश्व नेवाः दिवस मनाइँदै
यसपछिको सामग्रीबागमती प्रदेशले आठ महिनामा २५.३५ प्रतिशत बजेट खर्च गर्यो