हेटौंडा, चैत ७ ।
हेटौंडामा सम्पन्न स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीका क्याप्टेन टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

जितसँगै नेपाल आर्मी फुटबल क्लबले नगद १० लाखसहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बनेको मकवानपुर ११ ले ५ लाख रुपैँयामा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच गोलकर्ता त्रिभुवन आर्मीका टेकबहादुुर बुढाथोकी भए । उनले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले जितेका छन् । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट बाइक प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोल रक्षक आर्मीका विश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर आर्मीकै दिपक गुरुङ, उत्कृष्ट मिड फिल्डर पनि आर्मीकै शेषेहाङ आङदम्बे, उत्कृष्ट फरवार्ड आयोजक मकवानपुर ११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी फुटबल क्लबका नवीन न्यौपाने घोषित भए । सबैले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

अघिल्लो सामग्रीपाँच नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णय
यसपछिको सामग्रीप्रतिनिधि सभा बैठक आज बस्दै