हेटौंडा, ७ चैत । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले यातायात व्यवसायीको समस्या समाधानमा पहल नगरेको बताउनु भएको छ ।
शनिबार हेटौँडामा भएको पुरानो नारायणी यातायात कम्पनी र नारायणी संघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै नेता बानियाँले सरकार यातायात व्यवसायीको पीरमर्कामा उदाशीन रहेको बताउनु भयो ।
बानियाँले यातायात व्यवसायीलाई कम्पनीमा जानु पर्ने नीति बनाएर समस्यामा पार्ने काम मात्र भएको उल्लेख गर्दै भन्नु भयो, ‘नीति गलत थियो, चाँडै नै यातायात व्यवसायी कम्पनीमा दर्ता हुनुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य हुनेछ ।’
सरकार काम भन्दा बढी कुरा गर्नमा व्यस्त रहेको बताउँदै बानियाँले व्यवसायीको हित विपरीत बनाएको नीतिका कारण कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको आरोप लगाउनु भयो ।
कार्यक्रम अध्यक्ष हीरालाल श्रेष्ठको अध्यक्षतामा भएको हो । साधारण सभामा बागमती प्रदेश सदस्य मुनु सिग्देल, प्रेम बहादुर पुलामी, ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लवशेर विष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतकाले भनाइ राख्नु भएको थियो । सभामा संघ तथा कम्पनीका अध्यक्ष हीरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका सञ्चालक सरोजकुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।