हेटौंडा, ७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो ।
पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘तीन वर्षसम्म सबैतिर काई लागेको थियो, खिया लागेको थियो। खियालाई हामी बिस्तारै हटाउँदैछौँ । काईलाई हटाउँदैछौँ । खिया हटाउदैछौँ । फेरि हामी दाँत माझ्दैछौँ । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौँ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहित बनाउँदैछौँ । जसरी शरीरमा अक्सिजन चाहिन्छ, त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले ऊर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्दछ ।’
उहाँले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको ‘जन्मेको बच्चा मान्दैनौँ फेरि गर्भमा लैजाऊ’ भने जस्तै भएको टिप्पणी गर्नुभयो ।
पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्व एमाले व्युँतनुको अर्थ के हो भने पूर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पूर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरि व्युँताउने हो । आज पार्टीभित्र विवाद भइरहेको कुरा त्यही छ । पूर्व एमाले व्युँतिईसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न ।’