हेटौंडा, १६ चैत ।
(केहिदिन अघि मकवानपुर जिल्लामा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले वृद्ध आश्रमहरुको अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग जेष्ठ नागरिक फोकल पर्शन कल्पना नेपाल आचार्यको टोलीले जिल्लामा सञ्चालनमा रहेका ५ वटा वृद्धआश्रम तथा मानवसेवा केन्द्रको वस्तुस्थिति बारे जानकारी लिएको हो । मकवानपुरमा ओम वृद्धआश्रम, मानवसेवा आश्रम, श्रीमद्भागवद् ज्ञानमहायज्ञ वृद्धआश्रम, सर्वेश्वर महादेव मन्दिर वृद्धआश्र र दिव्यसेवा निकेतन आश्रम छन् ।
यसै सन्दर्भमा राष्टिय मानवअधिकार आयोग जेष्ठ नागरिक फोकल पर्सन नेपालसँग सहकर्मी सम्झना श्रेष्ठले कराकानी गर्नुभएको छ । )
राष्ट्रिय मानवअधिकार आयोगले मकवानपुरमा रहेका वृद्धआश्रमहरुको अनुगमन गरेको छ । वृद्धआश्रममा रहेका जेष्ठ नागरिहरुको अवस्था कस्तो पाउनुभयो ?
-राष्ट्रिय मानवअधिकार आयोगले यस वर्ष देशैभर रहेका वृद्धआश्रमहरुका जेष्ठ नागरिकहरुको अवस्था के छ र वृद्धआश्रमहरु मापदण्ड अनुसार चलेका छन् की छैनन् भन्ने उद्यश्यले आश्रमहरुको अनुगमन गरेको छ ।
अनुगमन पश्चात त्यँहा पाएका समस्याहरु तथा कमि कमजोरीहरुलाई सम्वन्धित जिल्लामा रहेका सरोकारवालाहरुसँग बसि छलफल तथा ध्यानाकर्षण गर्ने कार्य पनि गरिरहेका छौँ ।
यसै अनुसार मकवानपुरको हेटौंडामा रहेका ५ वटा वृद्धआश्रमहरुको अनुगमन गरेका छौँ । मकवानपुरमा रहेका वृद्धआश्रमहरुमा मापदण्ड पालना गर्न नसकिएको जस्तो पाइयो । जेष्ठ नागरिकहरुलाई खानपानको कुरा, पालनपोषणेका कुराहरु, हेरचाह, स्याहार सुसारका कुराहरु, उहाँहरुलाई मनोरञ्जन, सरसफाईका कुराहरुमा अक्षरस पालना गर्न नसकेको पाइएको छ ।
यसैगरि वृद्धआश्रममा रहनुभएका कतिपय जेष्ठ नागरिकहरुमा नागरिकताको समस्या पनि रहेछ । जसका कारण सामाजिक सुरक्षा भत्ता नपाउने, यातायातमा सिट सुरक्षित भएपनि नबसाइएको, चाडामा छुट नभएको पाइयो । यि समस्याहरुको विषयमा सरोकारवालासँगको छलफलमा ध्यानाकर्षण गराएका छौँ । समस्याको समाधान हुन्छ भन्ने विश्वास लिएका छौँ । वृद्धआश्रमहरु किन खोलिन्छ, किन चाहिन्छ कस्ता मानिस वृद्धआश्रममा बस्ने भन्ने कुरामा पनि आश्रमहरुले ध्यान पुर्याउन नसकिरहेको जस्तो पायौँ ।
राष्ट्रिय मानवअधिकार आयोग आफैँले कुनै पनि निर्णय गर्ने वा सेवा दिने भन्ने हुँदैन । सरकारलाई ध्यानाकर्षण गर्ने मात्रै हो, तपाँइहरुले लैजानु भएको रिपोर्ट कसरी प्रस्तुत गर्नुहुन्छ ?
राष्ट्रिय मानवअधिकार आयोग एउटा संवैधानिक निकाय हो । जसले संवैधानिक मान्यता तथा कार्यादेश अनुसार उसको काम, कर्तव्य र अधिकार अनुसार आफुले गरेको अनुगमन अनुसार रिपोर्ट तथा प्रतिवेदनहरु निकालिन्छ । यहि प्रतिवेदनको आधारमा के कस्तो पायाँै, भन्ने कुरामा रहेर अव कसरी अघि बढ्ने भन्ने विषयमा ध्यानाकर्षण गराउन सरकारलाई सिफारिस गर्छौँ ।
हामीले अहिले अनुगमन गर्दा शिक्षित तथा पढेलेखेका परिवारका आमाबुवाहरु बढी पायौँ । त्यसमा पनि ब्राह्म्ण समुदायका आमाबुवाहरुको संख्या धेरै पायौँ । ७० वर्ष नाघेका वरिष्ठ जेष्ट नागरिकहरुको संख्या पनि निकै भेटियो ।
यस्तै सडकबाट आउनुभएका आमाबुवाहरु हुनुहुन्छ, परिवार भएका पनि हुनुहुन्छ । सम्पति भएर अरुले खाइदिएकाहरु पनि हुनुहुन्छ । यस्तै छोरी मात्रै भएका आमाबुवाहरु हुनुहुन्छ, उहाँहरु छोरी विवाह गरि दिएपछि एक्लिएका र वृद्धआश्रम आउनुपर्ने वाध्यता रहेको पनि भेटियो ।
मकवानपुरमा रहेको पाँच वटा वृद्धआश्रममा जेष्ठ नागरिहरुको संख्या के कति पाउनुभयो नि ?
मकवानपुर जिल्लामा ओम वृद्धआश्रम, मानवसेवा आश्रम, श्रीमद्भागवद् ज्ञानमहायज्ञ वृद्धआश्रम, सर्वेश्वर महादेव मन्दिर वृद्धआश्रम र दिव्यसेवा निकेतन रहेछन् । हामी जाँदा श्रीमद्भागवद् ज्ञानमहायज्ञ वृद्धआश्रमको दर्ता नविकरण छ १५ जना देखाइएको छ तर हामी पुग्दा त्यस्तो देखिएन ।
यसैगरि दिव्यसेवा निकेतनले अलि बढी मापदण्डलाई पालना गरेको पायौँ । त्यँहा पौष्टिक खानेकुरा सरसफाई लगाएत धेरै कुराहरु राम्रो पायौँ । मनोरञ्जनको व्यवस्था, अलिकति अनुशासन पनि देख्यौँ । यसैगरि मानवसेवा आश्रममा चाँहि ७० जना जति जेष्ठ नागरिक हुनुहुँदो रहेछ । अन्य चाँहि विभिन्न उमेर समुहको हुनुहुन्छ । त्यहाँ रहनुभएका ९९ प्रतिशत जसो चँँहि मानसिक समस्या भएकाहरु हुनुहँुदो रैछ । समग्रमा भन्नुपर्दा सबैखाले उमेर समुहका मानिसहरु भेट्यौँ । सडकबाट उठाएर ल्याउँदा सबै खालका मानिस पर्ने नै भयो ।
यसैगरि सर्वेश्वर महादेव मन्दिर वृद्धआश्रममा दर्ता, नविकरण छ तर सञ्चालनमा देखिएन । दिवासेवा केन्द्र जस्तो पाइयो, त्यहाँ दिउँसो वरपरका आमाबुवाहरु जम्मा हुने भजन किर्तन गर्ने फर्किने जस्तो मात्रै पाइयो । तर उहाँहरुले चाहिँ सञ्चालन भैरहेको बताउनुभयो ।
वृद्ध आश्रम सामाजिक भावनाले खोलेपनि सञ्चालन गर्दै जाँदा अनेकौँ समस्याहरु होलान् । ति समस्याहरुलाई सरकारले कसरी सम्वोधन गर्नुपर्ला ?
वृद्धआश्रम देशमा धेरै खुल्दै जानु आफैँमा राज्य नै असफल भए जस्तो देखिन्छ । तर अर्काे तर्फ सोच्दा वृद्धआश्रम चाहिन्छ पनि । जो साहारा विहिन छ, जसलाई सहयोग चाहिन्छ, जो सडकमा छ, जसको सम्पति अथाहा छ र पनि स्याहार गर्ने मान्छे छैन, हो यस्तो अवस्थामा बरु सम्पति दिन्छु आश्रममै व्यवस्थित तरिकाले बस्न चाहनेहरु पनि थुप्रै हुनुहुन्छ ।
अव कस्तो व्यक्तिलाई राख्ने भन्नेमा पनि ध्यान दिनुपर्छ । हाम्रा ऐन कानुनहरु छन् त्यसलाई पालना गर्नुपर्छ । तर, जिल्लामा सरोकारवालाहरु नै बेखवर पाइयो, यो दुखद हो ।
सरकारले सहयोग गरे पनि नगरे पनि सञ्चालन गर्दा भने मापदण्ड पालना गर्नैपर्छ । सबैबिच सहकार्य, समन्वय पनि हुनुपर्छ, यो अति आवश्यक हो ।
जेष्ठ नागरिकलाई वृद्धआश्रमसम्म जानुपर्ने अवस्था आउन नदिन कस्को कस्तो भूमिका हुनुपर्छ ?
सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने वृद्धआश्रम खोल्ने जरुरत नै पर्ने थिएन । सन्तानमा जिम्मेवारीपनको विकास हुने हो भने कोहि पनि जेष्ठ नागरिकले वृद्धआश्रम धाउनुपर्ने थिएन । वृद्धआश्रम भनेको सन्तान तथा हेरचाह गर्ने कोहि पनि नहुनेहरुका लागि हो । जेष्ठ नागरिकहरु भनेको हाम्रो ज्ञानको भण्डार हो ।
हामीले उहाँहरुको सेवा, संरक्षण गर्नु हामी सबैको दायित्व हो । यस दायित्वबाट कोहि पनि पन्छिन मिल्दैन ।
मकवानपुरमा सरोकारवालाहरुको प्रतिक्रिया कस्तो पाउनुभयो नि ?
हामीले अनुगमन गरे पश्चात जिल्लामा सराकारवालाहरुसँग बसेर छलफल पनि गर्यौँ । उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । नागरिकताको समस्यामा प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने कुरा गर्नुभएको छ ।
यस्तै यातायात, सञ्चार, उपमहानगर लगाएत सबैबाट राम्रो प्रतिक्रिया आएको छ । आशा गरौँ, जिल्लामा रहेका वृद्धआश्रमहरुको गुणस्तर बढ्ने छ र जेष्ठ नागरिकहरुमा रहेका समस्याहरु हटेर जानेछन् ।