हेटौंडा, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले देशैभर समानान्तर भेला शुरू गर्ने तयारी गरेको छ ।
दुईदिने राष्ट्रिय कार्यकर्ता भेलापछि नेपाल खनाल समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको हो । शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा आयोजना गरिएको भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम छ । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।
देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको नेपाल खनाल पक्षले शनिबार युवा संघको भेला र १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको छ । यस्तै अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।
नेपाल खनाल पक्षले प्रदेश नं २ को इञ्चार्ज घनश्याम भुसाललाई तोकेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै विरोधमा उत्रिएको नेपाल खनाल समूहले हरेक विभाग तथा तहमा समानान्तर कमिटी गठन गरिसकेको छ ।