हेटौंडा, ११ चैत ।
देशका धेरै स्थानमा वायु प्रदूषण बढेको छ । जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदुषण बढेको मौसमविद्ले बताएका छन् ।
वातावरण विभागले पनि हेटौँडा,काठमाण्डौ, भक्तपुर, ललितपुर सहित विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको देखाएको छ ।
प्रि- मनसुनको समय सुरु भइसक्दा समेत जमिन भिज्ने गरी पानी नरपेरकाले प्रदुषण बढ्दै गएको मौसमविद् शान्ति कँडेलको भनाई छ ।
उहाँका अनुसार वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा चल्ने सम्भावना नदेखिएकाले प्रदुषण अझै बढ्न सक्ने उहाँको भनाइ छ ।
देशका धेरै जसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि पानी पार्ने प्रणाली नआउँदा जमिन भिज्ने गरी पानी पर्न सकेको छैन ।
यसकारण प्रदुषण बढ्दै गएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्यूआईमा मापन गरिन्छ ।
एक्यूआई ५० सम्म हुनु राम्रो हो तर ५० देखि एक सय सम्मलाई मोडरेट मानिन्छ । एक्यूआई तीन सय पुग्नु जोखिमपूर्ण र तीन सयभन्दा माथि पुग्नुलाई घातक मानिन्छ ।