हेटौंडा,११ चैत ।
एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने भएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।
माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाएका थिए ।
स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरु भने सहभागी थिएनन् ।
तर, नेता भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिनुभयो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।