हेटौंडा, २७ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभामा उपाध्यक्षमा उम्मेदवार बन्नु भएका रामप्रसाद न्यौपानेसँगको कुराकानी:
यसपटक उपाध्यक्षमै तपाईंको उम्मेदवारी किन ?
आगामी चैत २१, २२ र २३ गते मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभा तथा चुनाव हुँदैछ । म मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा नेपाल फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष । मेरो आफ्नो उम्मेदवारी व्यवसायीका हकहित तथा समस्याको मागमा सधैँ एकाकार रहने पहिलो प्रतिवद्धता र प्रण हुनेछ । र, व्यवसायीका अप्ठ्यारामा सहजीकरण गर्ने, व्यवसायीलाई सफल बनाउन प्रयत्न गर्ने र व्यवसायीबीचमा सहकार्य गर्न आफुले सहयोग गर्ने र उद्योग वाणिज्य संघलाई गतिशील बनाउने मेरो पहिलो प्रण हुनेछ ।
पछिल्लो समय उद्योगी व्यवसायीको समस्या के छन् ? सजिला अप्ठ्यारा के छन् ?
अघिल्लो वर्ष चैतबाट कोभिडका कारण ८, ९ महिना समग्र उद्योग, व्यापार व्यवसाय ठप्प रह्यो । त्यो बीचमा रहँदा पनि उद्योग वाणिज्य संघको उपाध्यक्षका जिम्मेवारी लिइरँदा विभिन्न निकायमा समन्वय गरेको थिएँ । मौद्रिक नीतिमा हाम्रा कुरा राख्न पहल गरेँ, महासंघमार्फत पनि संघीय सरकारलाई घच्घच्याउने कार्यमा हामी लागिरह्यौँ । यस्तै, बैंकका ब्याजदर न्युनिकरण गर्न, लकडाउनमा पनि व्यवसायीलाई बैंकहरुले जुन ताकेताको व्यवहार भयो, त्यो समयमा असहज अवस्थामा व्यवसायीलाई ताकेता नगर्न पहल गरियो । विभिन्न निकायबाट हुने अनुगमनमा सहजीकरण गर्न उद्योग वाणिज्य संघको टिम लाग्यौँ ।
उद्योगी व्यवसायीको हकहितका लागि के कस्ता काम गर्नु हुन्छ ?
मेरो पहिलो एजेन्डा उद्योगी व्यवसायीमा एकता नै रहने छ । यस्तै, एक कार्यकालमा एकपटक लगाइने राष्ट्रिय औधोगिक व्यापार मेला जुन हिजोका अध्यक्षहरुले गर्दै आउनुभएको थियो, त्यसलाई निरन्तरता दिने काम दोस्रो हो । व्यवसाय संरक्षणमा कुनै निकायले ध्यान नदिने गरेको अवस्था छ । राज्यले कर मात्र लिने र व्यवसायीको संरक्षणमा ध्यान केन्द्रित नहुने अवस्थामा हेटौंडा उपमहानगरपालिकामा व्यवसाय कर तिरिरहँदा कम्तीमा २० प्रतिशत व्यवसाय संरक्षण गर्न संरक्षण कोषमा त्यो रकम राखेर व्यवसायीलाई सबल बनाउने योजना पनि छन् ।