हेटौंडा, २७ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभा तथा चुनाव आगामी चैतमा हुने भएको छ । चैत २१, २२ र २३ गते हुने चुनावमा उम्मेदवारी दिनुभएका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले सम्झना श्रेष्ठसँगको कुराकानीः
मकवानपुर उद्योग वाणिज्य संघको आगामी चुनावमा यहाँको उम्मेदवारी किन ?
म संघको निवर्तमान अध्यक्ष पनि हुँ । मेरो उम्मेदवारी वास्तवमा भन्नुपर्दा व्यवसायी उद्योगीको हकहित संवद्र्धनका लागि नै हो । उद्योगी व्यवसायीको मर्यादा रहनुपर्छ भन्ने विषय मेरो प्राथमिकतामा पर्छ । आर्थिक विकासका निम्ति उद्योग वाणिज्य संघमा भूमिका रहनुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता हो ।
तपाईंले नेतृत्वको जिम्मेवारी पाउनुभयो भने, उद्योगी व्यवसायीका लागि के के गर्नुहुन्छ ?
पहिलो कुरा त, अब व्यवसायीले व्यवसाय गर्छन्, उनीहरुको मानइज्जत हुनुपर्छ । र सरकारलाई व्यवसाय गरेबापत सरकारलाई राजश्व तिरिसकेपछि व्यवसायीको सम्मान हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ भन्ने तथ्य पनि स्थापित गर्नुपर्छ । वास्तवमा भन्नुपर्दा, देशकै औद्योगिक नगरी भनेर चिनिने हेटौंडालाई अझ सबल बनाउन स्थानीय नै उद्योगी बन्नुपर्छ भन्ने मेरो मान्यता हो । यस्तै, प्रदेश राजधानी भएका कारण पनि राजधानी झल्किने वातावरण बनाउन उद्योगी व्यवसायीले पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने मेरो एजेण्डा हो ।
उद्योगी व्यवसायीको अवस्था के छ ? सजिला अप्ठ्यारा के छन् ?
अब पछिल्लो समय त, कोरोनाले थला परेको व्यवसाय बल्ल आइसियुबाट ओपिडीमा निस्के जस्तो भएको छ । विस्तारै व्यवसायी माथि उठ्ने वातावरण बन्दै छ । विभिन्न किसिमका समस्या झेलेका व्यवसायी तंग्रिन खोज्दैछन् । कर नीतिका विषय अष्पष्ट छन्, औद्योगिक नीतिका विषय पनि छन् । राजश्व नीतिमा पनि व्यवसायीलाई जोड्नु छ । विभिन्न किसिमका झैझमेलामा उद्योगीहरु छन् । त्यसकारण पनि उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिकामा मध्यस्थता गर्दै अगाडि बढ्नुपर्छ भनेर हामी लागि परेका छौँ ।