प्रसंग हो, मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभामा अध्यक्ष उम्मेदवारी घोषणा कार्यक्रम । प्रकाश होटलमा पत्रकारहरु खचाखच नै थिए । कृष्णकुमार अग्रवाल गुप्ताको उम्मेदवारी घोषणा सभ्य र भव्य बनाउन स्वयम् वर्तमान अध्यक्ष कृष्ण कटुवाल नै लाग्नु भएको थियो । प्रतीक्षा थियो पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य अरुणराज सुमार्गीको ।

कार्यक्रम शुरु भयो । सुमार्गी पनि आउनु भयो । मन्तव्यक्रममा सुमार्गीले प्रधानमन्त्रीलाई प्रधानमन्त्रीकै भाषामा आलोचना गर्नु भयो । काठमाडौंमा छुद्र बोल्ने कोही छन् भने एक नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली भन्नेमा शंका छैन, हेटौंडामा पनि ओलीकै लयमा देखिनु भयो सुमार्गी । ‘पर्सनल इगो’बाट शुरु भएको सम्बोधनमा अर्का उम्मेदवार राजकुमार न्यौपानेमाथि आक्रमण चुनावी माहौलमा ठीकै होला । छेडखानी पच्ला । तर कृष्णकुमार अग्रवालको पक्षमा मत माग्नु भन्दा बढी सुमार्गीले ओली झैँ आफू र घरानालाई कसी लगाउँदै पत्रकारमाथि अपमान हुने शब्द बोल्नु भयो । पत्रकारहरुले लेख्ने हिम्मत गरेनन्, लेख्न सकेनन्, किन लेखेनन्, राम्रो लेखेनन्, सुमार्गी घरानाको उन्नति, प्रगति, समाजसेवा देखेननन्, ऐजन ऐजन प्रसंगमा ‘सभ्य गाली’ गरेपछि मकवानपुरमा अहिलेसम्म रिसाएको नदेखिएका नेपाल पत्रकार महासंघकै अध्यक्ष हरि हुमागाईं पनि रिसाएपछि ‘लाटो रिस’को एक झोक्काले हलका सबै पत्रकार बाहिरिए ।

लगातार समाचारमा आइरहेका छन् कि, सुमार्गीले पत्रकारको चित्त दुख्न पुगेकामा फेसबुकलगायत सामाजिक सञ्जालमा एकवचन ‘सरी’ समेत भन्नु भएन । त्यस यता सुमार्गी बजारमा देखिनु भएको छैन । त्यसदिन बिच्किएका पत्रकारहरुसँग फेरि बैठकसमेत हुनसकेको छैन । दोष सुमार्गीको हो, मारमा पर्नु भएको छ कृष्णकुमार अग्रवाल, कृष्ण कटवाल र काव्यमणि अधिकारीलगायतका एउटा जुझारु टिम । अध्यक्ष कट्वालले कार्यसमितिका हामी २० जना अग्रवालका पक्षमा छौँ भन्नु भयो । प्रवक्ता अधिकारी, प्रभावशाली व्यवसायीहरु भएको कार्यक्रममा पत्रकारले ‘खल्लो’ पारे भन्ने कोही थिएनन् । आज अरुण दाइले किन त्यस्तो बोल्नु भयो भन्नेहरु नै थिए, तर घरानाका अगाडि विरोध नगर्दा पत्रकारहरुले लगातार सुमार्गीमाथि प्रश्न गरिरहनु भएको छ कि, के साँच्चै सुमार्गीमा त्यत्रो दम्भ छ, सरी पनि भन्नु पर्दैन ?

त्यही साँझ मोटल एभोकाडोमा राजकुमार न्यौपानेको पत्रकार सम्मेलन भयो । ४ उपाध्यक्षसहितको उम्मेदवारी घोषणा । अझ अध्यक्षकै उम्मेदवार रामप्रसाद न्यौपाने उपाध्यक्षमा झरेर राजकुमारलाई समर्थन । ‘लेफ्ट’ युवा व्यवसायीको प्यानल । नेकपा, माओवादी, एमाले फुटफाट भए पनि यो सामुहिक प्यानल । आयोजकको गफै सुन्ने हो भने, त्यो दिन एभोकाडोमा ७ सय बोलाइएको हो, १५ सय भन्दा बढी आए । खुवाउन नसकेर हेटौंडाका अरु ४–५ होटलमा पठाउनु प¥यो । राजनीति बुझेका छन् राजकुमारले, भनिहाले, ‘कहीँ कतै भएको कार्यक्रममा मेरा नाममा तपाईंहरुमाथि पनि गाली बर्सिएछ, मेरा कारण तपाईंहरुमा पर्न गएको असुविधाका लागि क्षमा चाहन्छु ।’ एउटा आक्रोशित भएर गाली गर्ने, अर्को नम्र भएर माफी माग्ने । यस्तै देखियो दुई पत्रकार सम्मेलनका दृश्यहरु ।

गरिमा नगिरोस्
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व कहाँ छ ? यसका पूर्वअध्यक्षको अवस्था कस्तो छ ? राष्ट्रिय राजनीति र उद्योग व्यवसायमा किन आज मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षहरु दृश्यमा छैनन ? दिवंगतबाहेकका पूर्व अध्यक्षहरुको सामाजिक जीवन कस्तो छ ? चुनावका बेला प्रश्न सोध्ने हो । रिसाउनु पर्दैन । अध्यक्षहरुको अहिलेको हुलिया के मकवानपुर उद्योग वाणिज्य संघको मर्यादा कायम गराउने काममा सफल छ ? अरुणराज सुमार्गी र राजकुमार न्यौपानेबाहेक बाँकी अरु पूर्वअध्यक्षहरुबारे उद्योगी, व्यवसायीले प्रश्न गरिरहेका छन् कि, उनीहरु के गरिरहेका छन् ?

अध्यक्ष भएकाहरु त भए नै, भएकाहरु भन्दा नभएकाहरुको बोलवाला छ मकवानपुरमा । शर्मिला डंगोल, सिद्धिलाल श्रेष्ठ, ज्योतिरत्न वज्राचार्यहरु अहिले पनि मकवानपुरको व्यापार व्यवसायमा सक्रिय छन् । समाजसेवामै छन् । तर अध्यक्ष भएपछि काठमाडौंमा घर बनाउने र उतै रमाउने परम्परा यसपटक पनि देखिन्छ कि ? २०४८ सालमा सुरुङमार्ग बनाउन पहल गर्ने मकवानपुर उद्योग वाणिज्य संघ अचेल आलुको अचार बनाउने पाँचदिने तालिमको समाचारमा भेटिन्छ । एउटा गरिमाको संस्थाको अध्यक्षको आसन ग्रहण वडाअध्यक्षपछि हुन्छ । अब आउने नेतृत्वले सोचोस् कि, तपाईंहरु गाँड कोराकोर गरिरहँदा मकवानपुर उद्योग वाणिज्य संघ घरजग्गा व्यवसायी संघ, मदिरा व्यवसायी संघ, तरकारी व्यवसायी संघ, कुखुरा व्यवसायी संघ, निर्माण सामग्री व्यवसायी संघ भन्दा कमजोर किन देखिँदैछ बजारमा ? आक्रोश र नम्रता छेडखानीमा होइन, मकवानपुर उद्योग वाणिज्य संघको गरिमा पूर्ववत आकारमा ल्याउनेमा पनि छलफल होस् । राम्रो काममा साझेदारी र नराम्रो काममा खबरदारी पत्रकारिताको धर्म नै हो ।

अघिल्लो सामग्रीफागुन २८ को भेला नसच्चिए पार्टी एक हुँदैनःअष्टलक्ष्मी
यसपछिको सामग्रीमकवानपुरगढीमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु