हेटौंडा, १२ चैत ।
पछिल्लो समय हेटौंडा आसपासका क्षेत्रको वनमा डढेलो लागेका कारण धुँवा फैलिएको छ । हेटौंडा बजार नजिकैको वनमा डढेलो फैलिए पनि सम्विन्धित निकाय भने मौन बसेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय, मकवानपुरगढी गाउँपालिकाको विभिन्न स्थानहरु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय नजिक रहेको वनजंगलमा आगलागि हुँदा सम्बन्धीत निकायहरु भने मौन छन् ।
सम्वन्धित निकायहरु डढेलो नियन्त्रण गर्न सञ्चारमाध्यममा सुचना बजाइदिए जिम्मेवारी सकियो भने झैँ चुपचाप बस्दा डढेलोको धुँवाले नराम्ररी प्रभाव पारेको छ ।
आकाशमा फैलिएको धुँवा तथा तुवाँलोका कारण बाहिर हिँडडुल गर्न समस्या परेको छ । धुँवाको कारण आँखा पोल्ने तथा दुख्ने, अाँँसु बग्ने जस्ता समस्याहरु दोख पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
आँखालाई जोगाउन चस्मा लगाएर हिँड्न तथा सावधानी अपनाउन उनीहरुको सुझाव छ । अहिलेको धुँवा तथा तुवाँलोले आँखामा दीर्घकालीन असर पर्ने हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र रोेग विशेषज्ञ डाक्टर सुनील थकालीले बताउनुभयो ।
शक्ति एफएम र शक्ति खवरसँग कुरा गर्दै उहाँले अहिले आँखा अस्पतालमा पनि विरामीको संख्या बढेको बताउनुभयो । अहिले आँखा अस्पतालमा दैनिक ३०० देखि ३५० सम्म आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
आँखालाई सुरक्षित राख्न बेलाबेला सफा पानीले आँखा धुनुपर्ने डाक्टर थकालीको भनाई छ ।