कलाकारहरू संजोग कोइराला, वर्षा राउत, दीपाश्री निरौला र दीपकराज गिरीको ‘चिया अड्डा’ लाजिम्पाटमा विस्तार भएको छ। सन् २०१८ मा खुलेको चिया अड्डा मिठो चियाका साथै रमाइलो वातावरणका लागि चर्चित छ।
पहिलो चिया अड्डा नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोनिर थियो। केही दिनअघि मात्र यो पनि बानेश्वर, पानी ट्यांकी नजिकै सरेको चिया अड्डाका सह–सञ्चालक संजोग कोइरालाले जानकारी दिए। लाजिम्पाटको शाखा भने एक साताअघि खुलेको हो।
चिया अड्डा सुरुआती दिनदेखि नै युवापुस्ताको आकर्षणमा परेको हो। यहाँ कलेजका विद्यार्थी र कामकाजी युवायुवती जमघट गर्न आउँछन्। त्यसैले बिहान र बेलुका भिडै हुन्छ।
बानेश्वरजस्तो व्यस्त सहरमा एकछिन आनन्दले बसेर चिया खाने ठाउँ बनाउने सोचले संजोग, वर्षा, दीपाश्री र दीपकराजले चिया अड्डा खोलेका हुन्। यहाँको धेरैजसो काम भने मुख्यगरी संजोगले सम्हाल्छन्।